सूचना:
संक्षिप्त परिचय
हुप्सेकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तरगत नवलपरासी(व.सु.पूर्व) जिल्लामा अवस्थित एक गाउँपालिका हो । साविकको हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समितिहरुलाई समेटेको हुप्सेकोट गाउँपालिका १८९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार यस गाउँपालिकामा २६५८३ जनसंख्या रहेको छ र यसमा पुरुषको संख्या १२१४८ र महिलाको संख्या १४४३५ रहेको छ । ६ वडाहरुमा विभाजित गाउँपालिका साविकको देउराली गाउँ विकास समिति परिसरबाट गाउँपालिकाको सेवा प्रवाह हुँदै आएको छ । यस गाउँपालिकामा विभिन्न जातजातीहरुको एक समानको सौहार्द्रपूर्ण बसोबास रहेको पाईन्छ ।
यस गाउँपालिकामा विभिन्न रमणीय र पर्यटकीय महत्व बोकेका ऐतिहासिक गढी,दरबारका साथै ताल,पोखरी,मठ मन्दिर एवं मन लोभ्याउने हरिया डाँडा काडाहरु रहेका छन् ।रुद्र प्रताप सेनको रुद्रपुर गढी दरबार(भग्नावशेष),गोलपोखरी शान्ति पार्क,ऐतिहासिक मगर संग्रहालय, दरबार थुम्का,पौराणिक कालको मयूरपोखरी आदि जस्ता विशेष महत्व बोकेका ऐतिहासिक धरोहरहरुले सुसज्जीत यस हुप्सेकोट गाउँपालिकाले अत्यन्तै पर्यटकीय क्षेत्र विस्तारको सम्भावना बोकेको छ । त्यस्तै लोपोन्मुख घोरल तथा अन्य विविध पशु पंक्षीहरुको बासस्थान रहेको यस हुप्सेकोट गाउँपालिकाको भ्रमण गर्ने जो कोही यसको सुन्दरतामा मोहीत हुनेछन् ।